
सेलिब्रेटी नेपाल । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला आगामी चलचित्र ‘पाँच पाण्डव’मा फरक र दमदार भूमिकामा प्रस्तुत हुने भएकी छन् । यसपटक दर्शकले उनलाई पर्दामा एक निडर, जुझारु र अन्यायविरुद्ध आवाज उठाउने महिलाको रूपमा देख्न पाउनेछन् ।
चलचित्रमा दीपाश्रीले भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् भने भीमको भूमिकामा अभिनेता जितु नेपाल छन् । आफ्नो चरित्र यसअघिका भूमिकाभन्दा फरक रहेको बताउँदै दीपाश्रीले यसलाई ‘फाइटर लेडी’को संज्ञा दिएकी छन् ।
“यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो । मजदुरमाथि कसैले अन्याय गर्यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन्,” उनले आफ्नो भूमिकाबारे भनिन् ।
आफ्नो प्रवेशले नै दर्शकमा उत्साह थप्ने विश्वास दीपाश्रीको छ । डबिङका क्रममा नै आफ्नो दृश्यले दर्शकबाट सिठी, ताली र हुटिङ पाउने महसुस भएको उनले बताइन् । उनका अनुसार चलचित्रमा उनी श्रीमान्को सुरक्षाका लागि उभिने र अन्यायविरुद्ध डटेर सामना गर्ने साहसी महिलाको रूपमा देखिनेछिन् ।
चलचित्रमा दीपाश्रीको चरित्रको नाम ‘सितर्नी’ हो । यो नाम र चरित्र दर्शकको स्मरणमा रहने उनको विश्वास छ । “फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु । मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ,” उनले भनिन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकारको अभिनय रहेको छ । त्यस्तै सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकार पनि चलचित्रमा देखिनेछन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन् । नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । श्याम तामाङको छायांकन रहेको चलचित्रलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ भने गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम) र पुकार धिमालको भीएफएक्स रहेको छ । रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् ।
ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले चलचित्रलाई देशव्यापी वितरण गर्नेछन् ।





