
काठमाडौं। भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले युट्युबमा १ करोड भ्यूजको शानदार सफलता चुम्न लाग्दा, निर्माण टोलीले दर्शकमाझ अर्को उत्कृष्ट सांगीतिक प्रस्तुति पस्किएको छ। दोस्रो गीतको रूपमा रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरिएको हो। गीतमा गायक सुरेश लामा र गायिका दुर्गा खरेलले आवाज दिएका छन्। यस गीतमा चलचित्रका प्रस्तुतकर्ता समेत रहेका संगीतकार अर्जुन पोखरेलकै शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।
उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतको भिडियो भारतका प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरू दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको हो। कथाको गहिराइ र दृश्यको मागअनुसार नै गीतको छायांकनका लागी स्थानहरू रोजेको चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार पोखरेलले बताए। गीतको भिडियोमा मुख्य कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् ।
नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।


