‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, १६ वर्षमाथिका दर्शकले मात्रै हेर्न पाउने


काठमाडौं । भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित अन्य केही मल्टिप्लेक्समा पनि फिल्मको शो खुला गरिएको छ ।

रिलिजको तीन दिनअघि नै शो खुला गरिएको ‘मास्टर्नी’को शो संख्या भोलिसम्म क्रमशः बढ्दै जाने वितरक रोहित कट्टेलले बताएका छन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ । अर्थात् १६ वर्षमाथिका दर्शकले मात्रै फिल्म हेर्न पाउनेछन् ।

सुवेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ ।

फिल्मको कथा अभिनेत्री प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका हुन् । संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन् ।

फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ । रोहित शाक्य र त्रिशला गुरुङको संगीत रहेको फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेन र ज्ञानु संगम खड्काले तयार गरिरहेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.