‘चिरञ्जीवी भवः’को छायांकन सकियो, ५१ दिनमा प्याकअप


काठमाडौं । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ५१ दिनमा पूरा भएको हो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको छायांकन जेठ १५ गतेदेखि सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिएको हो ।

गत वर्ष निर्देशक आचार्यको निर्देशनमा बनेको चलचित्र ‘परान’ले नेपाली चलचित्रमध्ये सर्वाधिक ग्रस कलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाएको थियो । उनको निर्देशनमा बन्न लागेको दोस्रो चलचित्र ‘चिरञ्जीवी भवः’लाई लिएर दर्शकमा पनि उत्सुकता देखिएको छ ।

छायांकन सकिएसँगै निर्देशक आचार्यले अब पोस्ट प्रोडक्सनको कामलाई पनि उत्तिकै मेहनतका साथ अघि बढाउने बताएका छन् ।

“हामीले मन खोलेर समय लगाएर चलचित्रको छायांकन गरेका छौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ,” आचार्यले भने, “कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने चलचित्र लिएर आउनेछौँ ।”

चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका हुन् । कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका छन् ।

सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ ।

चलचित्रमा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री तथा मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । यस्तै कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला ‘कक्रोज’, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल र सुमन ज्योति न्यौपानेलगायत कलाकारको अभिनय छ ।

उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन् ।

चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् भने मित्र डी. गुरुङ सम्पादनमा छन् । बाबु गिरीको संगीत तथा गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन रहेको छ ।

रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा छन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशक छन् । चलचित्रमा सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर तथा विशाल न्यौपाने प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् ।

निर्देशक आचार्य स्वयंले चलचित्रका लागि गीत लेखेका छन् भने गीतमा हर्क साउदको पनि लेखन रहनेछ ।

मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् ।

‘चिरञ्जीवी भवः’ २०८३ माघ १ गते अर्थात् १५ जनवरी २०२७ देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ । चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.