‘बेहुली’को ‘दिलमा ठाउँ छ’ गीतलाई युट्युबमा १३ लाख भ्युज


काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बेहुली’ को गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा उल्लेखनीय दर्शक पाएको छ।

रिलिज भएको चार दिनमै गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलेको छ। टिकटकमा गीत प्रयोग गरेर २ लाख ५० हजारभन्दा बढी भिडियो बनाइएको निर्माण पक्षले जनाएको छ। फेसबुक र इन्स्टाग्रामका रिल्समा पनि गीत व्यापक रूपमा प्रयोग भइरहेको छ।

गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर छ। अर्जुन पोखरेलको संगीत रहेको गीतमा लोक स्वाद समेटिएको छ।

गीतको भिडियोमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको अभिनय तथा नृत्य छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा प्रस्तुत गरिएको हुक स्टेप सामाजिक सञ्जालमा प्रयोग भइरहेको छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको पनि अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सहनिर्माता तथा कोसिसराज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.