
काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ककाकिकी’ को लिरिकल थिम गीत सार्वजनिक गरिएको छ।
बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आदित्य प्रधानको स्वर, शिशिर थतालको शब्द तथा संगीत रहेको छ। यसअघि सार्वजनिक गरिएको फर्स्ट लुक भिडियोमा समावेश गरिएको गीतको हुकलाइन दर्शकले रुचाएका थिए।
यसअघि सार्वजनिक फर्स्ट लुकले सामाजिक सञ्जालमा चर्चा बटुलेको थियो। अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर र रेखा थापा तथा अभिनेता महेश त्रिपाठीको क्यारेक्टर लुकले दर्शकको ध्यान तानेको थियो। फर्स्ट लुकपछि चलचित्रप्रेमीले फरक प्रस्तुति र नयाँ कथावस्तु बोकेको फिल्म हुने अपेक्षा व्यक्त गरेका छन्।
फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ। निर्माण टिमले अब ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। लिरिकल थिम गीत सार्वजनिक भएसँगै प्रचार–प्रसारलाई पनि तीव्र बनाइएको निर्माण पक्षले जनाएको छ।
बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशक छन्। कलाकारमा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोगलगायतको अभिनय रहेको छ।
सुमन अगरवालको अवधारणामा बनेको फिल्मको कथा तथा पटकथा बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले लेखेका हुन्। छायांकन सुदीप बरालको टोलीले गरेको हो। टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने पोस्टर डिजाइन कार्यालयले गरेको हो।


