महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ ड्रेसम्यान कमल मिश्रलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान


काठमाडौं । नेपाली चलचित्र ‘आशा’ निर्माण हुने भएको छ। बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष समारोहबीच शर्मिला थापाको लगानीमा बन्न लागेको यस चलचित्रको औपचारिक घोषणा गरिएको हो। चलचित्रको कथा, पटकथा तथा निर्देशन राजिव गुरुङले गर्नेछन्।

घोषणा कार्यक्रमलाई परम्परा र आधुनिकताको संयोजनमा फरक शैलीमा प्रस्तुत गरिएको थियो। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान दिएका अग्रज प्राविधिकहरूलाई सम्मान गर्दै आयोजित कार्यक्रममा चलचित्रको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको परिचय गराइएको थियो। ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि चलचित्रको शीर्षकसँगै मुख्य कलाकार सार्वजनिक गरिएको थियो।

चलचित्र ‘आशा’ मा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, सुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको प्रमुख अभिनय रहनेछ।

निर्मात्री शर्मिला थापाले ‘आशा’ एउटा सशक्त पारिवारिक कथामा आधारित चलचित्र भएको बताइन्। उनका अनुसार आजको व्यस्त जीवनशैलीका कारण परिवारसँग बिताउने समय घट्दै गएको छ, र परिवारको कुनै सदस्यको अभाव भएपछि मात्रै उसको महत्व अझ गहिरोसँग महसुस हुने यथार्थलाई चलचित्रले उठान गर्नेछ।

उनले भनिन्, “‘आशा’ पूर्ण रूपमा पारिवारिक चलचित्र हो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले हेर्न मिल्ने चलचित्र बनाउने हाम्रो प्रयास हो। आफ्नै समाज र परिवारका कथालाई गर्वका साथ विश्वसामु प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले यो चलचित्र निर्माण गर्न लागेका हौं।”

उनका अनुसार चलचित्रको छायांकन आगामी साउनको पहिलो सातादेखि सुरु हुनेछ र करिब एक महिनाको कार्यतालिका रहनेछ। चलचित्रलाई आगामी माघ १ गते (माघे संक्रान्ति) प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

निर्देशक तथा कथाकार राजिव गुरुङले चलचित्रले मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। उनका अनुसार दर्शकलाई भावनात्मक रूपमा जोड्ने पारिवारिक कथालाई प्रभावकारी ढंगले पर्दामा उतार्ने उद्देश्यले चलचित्र निर्माण गर्न लागिएको हो।

उनले भने, “यो कथालाई पर्दामार्फत दर्शक हुँदै प्रत्येक परिवारसम्म पुर्‍याउनुपर्छ भन्ने महसुस भयो। मन छुने पारिवारिक कथामा आधारित चलचित्र तयार हुँदैछ। अहिले हामीले औपचारिक घोषणा गरेका छौं, छायांकन सम्पन्न भएपछि बाँकी जानकारी सार्वजनिक गर्नेछौं।”

अभिनेता महेश त्रिपाठीले फरक विषयवस्तु र सशक्त कथावस्तुकै कारण आफू चलचित्रमा आबद्ध भएको बताए।

उनले भने, “हरेक कलाकार राम्रो कथाको खोजीमा हुन्छ। ‘आशा’को कथा अहिले निर्माण भइरहेका चलचित्रभन्दा फरक छ। यसले मनोरञ्जन मात्र होइन, दर्शकलाई सोच्न पनि प्रेरित गर्ने विश्वास लिएको छु।”

कार्यक्रमका अवसरमा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ ड्रेसम्यान कमल मिश्रलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। विसं २०४६ मा प्रदर्शन भएको चलचित्र ‘अन्याय’ बाट भेषभूषा विभाग (ड्रेसम्यान) मा आफ्नो यात्रा सुरु गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले संयुक्त रूपमा सम्मान गरेका थिए।

चलचित्रमा रामकुमार श्रेष्ठ सहलेखक तथा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। सुदाम सीके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक हुन्। नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र समीर खरेलको संगीत तथा किशोर आचार्यको साउन्ड डिजाइन रहनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.