
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय चलचित्र पुरस्कार २०८३ तथा सम्मान प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पौडेलले विभिन्न चलचित्रकर्मी, कलाकार र सञ्चारकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गरेका हुन् ।
समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा योगदानको कदर गर्दै विभिन्न विधामा पुरस्कार वितरण गरिएको छ । दीर्घकालीन योगदानका लागि वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठ लाई दीर्घ साधना सम्मान प्रदान गरियो। उक्त सम्मानसँगै रु. ३ लाख ७५ हजार नगद पनि प्रदान गरिएको थियो।
यस वर्ष उत्कृष्ट चलचित्रको पुरस्कार ‘उनको स्वीटर’ ले प्राप्त गर्यो। सोही चलचित्रका निर्देशक नबिन चौहान उत्कृष्ट निर्देशक घोषित भए भने अभिनेत्री मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन्। उत्कृष्ट अभिनेताको पुरस्कार नीर शाह लाई चलचित्र ‘परान’ का लागि प्रदान गरियो।

त्यसैगरी, चलचित्र ‘परान’ का लागि दिपक प्रसाद आचार्य र यम थापाले उत्कृष्ट लेखकको पुरस्कार प्राप्त गरे। ‘कोशेढुंगा’ चलचित्रका लागि बाबु श्रेष्ठ उत्कृष्ट छायाङ्कन तथा नहकुल खड्का उत्कृष्ट सम्पादन विधामा पुरस्कृत भए। ‘इन्दिरा धिमे मैचा’ (नेपाल भाषा) उत्कृष्ट आदिवासी चलचित्र घोषित भयो।
जुरी प्रोत्साहन पुरस्कार अभिनेत्री आना शर्मा (रमिताको पिरती) र अभिनेता बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी) लाई प्रदान गरियो। विशेष चलचित्र पुरस्कार ‘नाक्छोङ’ चलचित्रका लागि ज्योति राज राईलाई प्रदान गरिएको थियो।
समारोहमा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता/प्रदर्शक डाक्टर सिंह गुरुङ, पत्रकार प्रकाश सुवेदी, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्री एञ्जिला सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता बिनोद शेरचन तथा प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे रहेका छन्। पत्रकार स्वर्गीय दिनेश सिटौलालाई मरणोपरान्त सम्मान प्रदान गर्दै रु. ५० हजार नगदसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा कलाकार देविका बन्दना र नरहरी प्रेमी ले सांगीतिक प्रस्तुति दिएका थिए। समारोहमा चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

