‘गौँथली’ को गीत ‘आँखा भरी आँसु’ मा जन्मघर छोड्दाको पीडा

गीतले माइतीघर छोडेर पराइ घर जानु पर्दाको दुखद् क्षण समेटेको छ ।


काठमाडौं । चलचित्र ‘गौँथली’को गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक बिसेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले चलचित्रको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो ।

निर्माण टिमले गीत केही फरक तरिकाले सार्वजनिक गरेको छ । गीतको मुख्य भूमिकामा रहेका कलाकार बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए । पञ्चे बाजा घन्किएको थियो । अनि कार्यक्रमका केही अतिथिहरू जन्तीको भेषमा औपचारिक गेटअपमा पुगेका थिए, जो बेहुला र बेहुलीको अगाडि र पछाडि लागेर नाच्दै हिँडिरहेका थिए । ठ्याक्कै विवाह घर झैँ कार्यक्रमस्थल सिंगारिएको थियो ।

बेहुला र बेहुली, सँगै रहेका जन्ती, नाच्दै रमाउँदै हिँडिरहेका जन्ती र घन्किएको पञ्चेबाजाले कुनै विवाहभन्दा कम लागिरहेको थिएन । तर, यथार्थमा साँच्चै विवाह नभएर यो चलचित्र ‘गौँथली’को गीत सार्वजनिक समारोह थियो ।

सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । संगीत पनि थानेश्वर स्वयंको छ । गीतमा शब्दरचना डा. भोला रिजालको छ ।

गीतले माइतीघर छोडेर पराइ घर जानु पर्दाको दुखद् क्षण समेटेको छ । आफू जन्मे हुर्केको घर, गाउँ, आमा, बुवा तथा आफन्तलाई चटक्क छोडेर विवाह गरेर अर्कैको घर जाँदाको वियोग गीतमा उल्लेख छ ।

कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री,सिम्रन खड्का,लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ । चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.