
काठमाडौं । नेपाली चलचित्र बजारमा ‘फ्राइडे रिलिज’ अन्तर्गत आज (शुक्रबार) देखि दुई नयाँ नेपाली चलचित्र ‘रोल नं १’ र ‘कुम्भ’ देशभर प्रदर्शनमा आएका छन् । फरक विषयवस्तु र शैलीमा निर्माण भएका यी दुवै चलचित्रले आजबाट औपचारिक रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन् ।
जोन योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘रोल नं १’ लाई सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । यससँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ ।
सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिएका छन् ।
चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । महेश दवाडीले लेखेको यस चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् ।
आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको एक्सनप्रधान चलचित्र ‘कुम्भ’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा र मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक श्रेष्ठ स्वयंले चलचित्रको छायांकन र सम्पादनको जिम्मेवारी सम्हालेका छन् । चलचित्रमा सम्राट बस्नेत, प्रदीप खड्का (भारत), सञ्जय थापा र कुमार महर्जनको एक्सन निर्देशन रहेको छ भने कोरियोग्राफी रोबर्ट सिंहले गरेका छन् ।


