
काठमाडौँ । आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘मितज्यू’ को ट्रेलर सार्वजनिक गरिएको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत रिलिज गरिएको हो। ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल र टेरिया फौजा मगरको मुख्य भूमिका देख्न सकिन्छ।
सार्वजनिक ट्रेलरमा दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो गाँसेका पात्रको भूमिका निभाएका छन्। गाउँमा नयाँ बाटो खुलेसँगै गाडी चालक बनेका उनीहरूबीच यात्रु छिटो गन्तव्यमा पुर्याउने प्रतिस्पर्धा देखाइएको छ। मित्रता र प्रतिस्पर्धाबीच विकसित हुने सम्बन्धलाई ट्रेलरले रोचक ढंगले प्रस्तुत गरेको छ।
फिल्मले नेपाली समाजमा कुनै समय प्रचलित मितेरी साइनोको परम्परालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको देखिन्छ। ग्रामीण परिवेशमा आधारित फिल्मले मित्रता, विश्वास, प्रतिस्पर्धा र सम्बन्धको भावनात्मक पाटोलाई उठाएको छ।
जनक घर्ती मगर निर्माता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि फिल्ममा समावेश गरिएको छ।
अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ। फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का हुन्।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। साथै, हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।


