टंकले बनाउने भए ‘मन विनाको धन २’, पूजा शर्मा फाइनल


काठमाडौँ। गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ। बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल उक्त फिल्मको दोस्रो श्रृंखला ‘मन विनाको धन २’ निर्माण हुने घोषणा गरिएको हो।

फिल्मलाई पहिलो भागझैं निर्देशक टंक बुढाथोकीले नै निर्देशन गर्नेछन्। यो फिल्म टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिका रूपमा निर्माण हुन लागेको हो। फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारिरहेका छन्। साथै, फिल्मको कथा र संगीत पनि टंक बुढाथोकीकै रहने बताइएको छ।

यसैबीच, फिल्मको मुख्य भूमिकाका लागि नायिका पूजा शर्मा अनुबन्धित भएकी छन्। आइतबार पूजा शर्मा र टंक बुढाथोकीबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो। फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ।

फिल्ममा अन्य कलाकार को–को रहनेछन् भन्ने विषयमा निर्माण टिमले हालसम्म केही खुलाएको छैन। निर्देशक टंक बुढाथोकीले भने, “अहिले हामी प्रि–प्रोडक्सनको काममा व्यस्त छौं। सुरुवातमै पूजाजीलाई अनुबन्धित गरेका छौं। अन्य कलाकारलाई पनि क्रमशः अनुबन्धित गर्ने तयारी भइरहेको छ,” भने।

नायिका पूजा शर्माले पनि फिल्ममा जोडिन पाउँदा खुशी लागेको बताइन्। उनले भनिन्, “फिल्मको कथावस्तु निकै पारिवारिक र भावनात्मक छ। आफ्नो भूमिका र टिम मन परेकै कारण यो प्रोजेक्टमा काम गर्न तयार भएकी हुँ।” फिल्मको निर्माण विष्णु माया मैनालीले गर्नेछिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.