
काठमाडौँ। आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘एक मुठ्ठी बादल’को भावनात्मक ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले फिल्मको कथावस्तु, पात्रहरूको मनोविज्ञान र मूल द्वन्द्वलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
करिब दुई मिनेट लामो ट्रेलरमा निर्देशक सहारा शर्माले विवाह र पारिवारिक सम्बन्धभित्र लुकेका जटिल भावनात्मक तहहरूलाई सूक्ष्म रूपमा उतारेकी छन्। मुख्य पात्र आँचल शर्मा विवाहप्रति उत्साहित देखिँदिनन्, जबकि परिवारले त्यसलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेरेको छ। यही सोचको द्वन्द्व र सम्बन्धभित्रको अपेक्षा–निराशाको उतारचढावले ट्रेलरलाई अझ गहिरो बनाएको छ।
फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा करिब तीन दशकपछि यही फिल्ममार्फत अभिनयमा फर्किएकी छन्।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। अन्तर्राष्ट्रिय सहकार्यमा बनेको फिल्ममा जर्मनीका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि निर्माण टोलीमा संलग्न छन्। थाइल्यान्डको ह्वाइट लाइटद्वारा कलर ग्रेडिङ गरिएको फिल्ममा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन र भारतकी दीपा भाटियाको सम्पादन रहेको छ।


