चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न


काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ। रेखा थापाको निर्देशनमा निर्माण भएको यस फिल्मको छायांकन २८ दिनमा सकिएको निर्माण टोलीले जनाएको छ।

फागुन २५ गतेबाट सुरु भएको छायांकन काठमाडौं आसपासका विभिन्न स्थानमा गरिएको थियो। नियमित तालिका अनुसार छायांकन सम्पन्न भएको जानकारी फिल्म कोअर्डिनेटर राजन घिमिरेले दिएका छन्।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहेको छ। साथै, विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गी पनि देखिनेछिन्।

दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको अभिनय रहेको छ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई उजागर गर्ने निर्माण पक्षको दाबी छ। चलचित्रको कथा तथा पटकथा ध्रुव लम्सालले लेखेका हुन्। करिब १० वर्षपछि लेखनमा फर्किएका उनले स्क्रिप्टमा विशेष मेहनत गरिएको बताएका छन्।

सुदीप बरालको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर देशभर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.