
काठमाडौं । ठूलो बजेट र चर्चित कलाकारहरूको बलियो टिमसहित निर्माण भइरहेको चलचित्र ‘पाँच पाण्डव’ यतिबेला पूर्वी नेपालको झापामा तीव्र गतिमा छायांकनमा व्यस्त छ । छायांकन सुरु भएको करिब दुई सातापछि निर्माण टिमले कलाकार टोली अझ सशक्त बनाउँदै दुई नयाँ अनुहारलाई भित्र्याएको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माणाधीन यस चलचित्रमा अब भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि जोडिएका छन् । छायांकनको १४औं दिनमा उनीहरू सेटमा प्रवेश गरेसँगै कथाको दायरा अझ विस्तारिएको निर्देशक वसन्त निरौलाले बताएका छन् ।
गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै सुरु गरिएको छायांकनमा अनुभवी कलाकार र नयाँ पुस्ताका लोकप्रिय अनुहारहरूको रोचक संयोजन देख्न पाइनेछ ।
चलचित्रका मुख्य ‘पाँच पाण्डव’ पात्रहरूमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन् । यिनै पात्रहरू वरिपरि घुम्ने कथामा महिला मुख्य भूमिकामा दीपाश्री निरौला र जनी गुरुङ प्रस्तुत हुनेछन् ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार चलचित्रलाई भव्य बनाउन बजेटमा कुनै कमी नराखिएको छ । उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरिसकेका छन् ।
काली रानी श्रेष्ठ निर्माता रहेको ‘पाँच पाण्डव’ ४० दिनको छायांकन तालिकासहित अघि बढिरहेको छ । झापाका रमणीय र विविध लोकेसनमा खिचिने यस चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका हुन् भने छायांकन श्याम तामाङले सम्हालिरहेका छन् ।



