
काठमाडौं । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार प्रचार सामग्रीका रूपमा गीत रिलिज गरेको हो।
गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर रहेको छ। शब्द तथा संगीत प्रकाश सपुतकै रहेको गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन्।
सार्वजनिक गीतको भिडियोमा सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। मायालु भावमा प्रस्तुत उनीहरूको जोडीलाई दर्शकले मन पराएका छन्। यो उनीहरूको पहिलो स्क्रिन सेयर हो।
यसअघि फिल्मको टिजर र पहिलो गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक भइसकेको थियो, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। नयाँ गीतले पनि ग्रामीण परिवेशमा आधारित प्रेमकथालाई प्रस्तुत गरेको छ।
लोकलयमा आधारित गीतमा घाँस–दाउरा, गोठाला जीवनजस्ता दृश्य समेटिएका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’बाट प्रेरित छ। फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।


