
काठमाडौं । आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ। लोकलयमा आधारित यस गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको छ। गीतको संगीत स्वयं खेम सेन्चुरीले दिएका हुन् भने शब्द रमेश बिजीले रचना गरेका हुन्।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा मायाको निशानी सुम्पिने भावलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। प्रदीप लामाको कोरियोग्राफी रहेको भिडियोमा स्वस्तिमा खड्का, प्रदीप लामा र बाल कलाकार समाइरा थापाको आकर्षक नृत्य देख्न सकिन्छ। साथै, फिल्मका मुख्य कलाकार रविन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटा पनि भिडियोमा देखिएका छन्। गीतलाई भव्य बनाउन सेट डिजाइन, प्रप्स र कोरसमा पनि विशेष मेहनत गरिएको देखिन्छ।
सिनेमामा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, प्रेम पाण्डे, आभा अर्याल, तारा शर्मा, रमेश बादी र सरस्वती अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्।
फिल्मको कथा निर्देशक थापा स्वयंले लेखेका हुन् भने संवाद र पटकथा यम भट्टराई र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका छन्।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन तथा रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक रहेको छ। फिल्ममा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत सुन्न पाइनेछ।
फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ रहेका छन्। रुपक प्रताप अधिकारी प्रोडक्सन म्यानेजर रहेको यस फिल्मका क्रियटिभ निर्देशक जेभी रुवाली हुन्।

