नवौं निफको तयारी तीव्र, प्रि–इभेन्टमार्फत बहसको माहोल


काठमाडौं। चैत १९ देखि २३ गतेसम्म आयोजना हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको तयारी यतिबेला तीव्र पारिएको छ। महोत्सव नजिकिँदै जाँदा आयोजक टोलीले ‘प्री–इभेन्ट’ कार्यक्रमहरूलाई सक्रिय बनाएको छ।

निफले प्रि–इभेन्ट अन्तर्गत फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्दै समसामयिक विषयमा बहस सिर्जना गरिरहेको छ। सोही क्रममा बिहीबार नक्सालस्थित कान्तिपुर थिएटर मा ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठले सहभागिता जनाउँदै नेपाली फिल्म क्षेत्रमा महिलाले भोग्दै आएका चुनौतीबारे खुलेर अनुभव सुनाए। निफका अध्यक्ष केपी पाठकका अनुसार, पुरुष–प्रधान मानिँदै आएको फिल्म उद्योगमा महिला सर्जकहरूले सामना गर्नुपरेका लैंगिक विभेद र संरचनात्मक समस्यालाई सार्वजनिक बहसमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अन्तरक्रियाका क्रममा निर्देशकहरूले आफूहरूले कामका दौरान भोगेका अपमानजनक व्यवहार, रचनात्मक अधिकारमाथि हस्तक्षेप तथा विश्वासको अभावबारे स्पष्ट धारणा राखे। निर्देशक संगीता श्रेष्ठले महिला निर्देशकहरूको बौद्धिकता र सिर्जनात्मक क्षमताको उचित मूल्यांकन नहुने प्रवृत्ति रहेको बताइन्। उनका अनुसार, सफल कामको श्रेयसमेत प्रायः महिला निर्देशकलाई नदिई अन्य प्राविधिक पक्षमा सीमित गरिने गरिएको छ।

समुन्द्र भट्टले छायाङ्कन स्थलमै आफू निर्देशक हुँदाहुँदै अनुमति विना संवेदनशील दृश्य खिचिएको अनुभव सुनाइन्। विरोध गर्दा बदनाम गराउने प्रयाससमेत भएको उनले दाबी गरिन्। अर्काे परियोजनामा सम्पादकीय अधिकारमा हस्तक्षेप गर्दै ‘घर गएर सुत्नू’ भन्ने अपमानजनक व्यवहार सहनुपरेको प्रसंग उनले साझा गरिन्।

निर्देशक उषा रजकले महिला निर्देशकप्रति बजारको अविश्वास ठूलो चुनौती भएको बताइन्। उनका अनुसार, लगानीकर्ता र प्रायोजकहरू महिला नेतृत्वको परियोजनामा जोखिम लिन अनिच्छुक देखिन्छन्। समुन्द्र भट्टले पनि महिला निर्देशकको परियोजनामा लगानी गर्न निर्माता सहज नहुने यथार्थ प्रस्तुत गरिन्।

कार्यक्रममा सहभागी निर्देशकहरूको निष्कर्ष थियो—नेपाली फिल्म क्षेत्रमा महिला सर्जकप्रति बौद्धिक र व्यावसायिक विश्वासको वातावरण अझै निर्माण हुन बाँकी छ। सहकर्मीबाट अपमानजनक व्यवहार र लैंगिक पूर्वाग्रह हटाउन सामूहिक सचेतना आवश्यक रहेको उनीहरूको धारणा थियो।

‘हर सिनेमा, हर भोइस’ निफको दोस्रो प्रि–इभेन्ट कार्यक्रम हो। यसअघि ‘द न्यु वेभ इन नेपाली सिनेमा’ शीर्षकमा युवा फिल्ममेकरहरूसँग अन्तरक्रिया आयोजना गरिएको थियो। महोत्सव नजिकिँदै जाँदा यस्ता कार्यक्रमहरूले नेपाली फिल्म उद्योगभित्र बहस र आत्ममूल्यांकनको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.