
काठमाडौं। नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको असामयिक निधनले अन्तर्राष्ट्रिय स्तरकी अभिनेत्री प्रियङ्का चोपडालाई गहिरो रूपमा छोएको छ। बलिउडको चर्चित बायोपिक चलचित्र ‘मेरी कोम’ (२०१४) मा गुरु–शिष्यको भूमिकामा देखिएका उनीहरूबीचको आत्मीय सम्बन्ध पर्दाबाहिर पनि निकै नजिकको रहेको प्रियङ्काको अभिव्यक्तिले झल्काउँछ।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रियङ्काले थापालाई केवल सह–कलाकार मात्र नभई आफ्नो जीवनको कठिन समयका सच्चा सहयात्रीका रूपमा सम्झिएकी छन्। विशेषगरी आफ्ना पिता अशोक चोपडाको निधनपछिको भावनात्मक रूपमा कमजोर अवस्थामा थापाबाट पाएको साथ, स्नेह र ढाडसलाई उनले अत्यन्त मर्मस्पर्शी शब्दमा स्मरण गरेकी छन्।
चलचित्र छायाङ्कनका क्रममा खिचिएको एक तस्बिर साझा गर्दै प्रियङ्काले लेखेकी छन्, “सर, तपाईँ सधैँ मेरो कोच रहनुहुनेछ। मलाई थाहा नदिई कति कठिन दिनहरूमा मलाई सम्हाल्नुभयो। तपाईँको न्यानो अँगालो र हँसिलो अनुहार सधैँ मेरो स्मृतिमा जीवित रहनेछ।”
पर्दामा प्रियङ्काको बक्सिङ कोच बनेका थापाले वास्तविक जीवनमा पनि देखाएको दयालु स्वभाव र अभिभावकीय स्नेहलाई स्मरण गर्दै उनले थापा निकै छिट्टै संसारबाट बिदा भएकोप्रति दुःख व्यक्त गरेकी छन्। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेकी छन्।
नेपाली र बलिउड चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाएका ६६ वर्षीय अभिनेता सुनिल थापाको शनिबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो। शंखमूलस्थित निवासमा अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनले अन्तिम सास फेरे। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार थापाको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

