कन्सर्टकै भीडमा ‘कुमारी’को ट्रेलर सार्वजनिक


काठमाडौँ । प्रणय दिवसको अवसर पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’ ले प्रचारमा नयाँ प्रयोग गरेको छ। शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजित भव्य सांगीतिक कन्सर्टबीच करिब पाँच हजार दर्शकको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु, भावनात्मक उतारचढाव र केन्द्रीय द्वन्द्वलाई संकेत गर्छ। मुख्य पात्रका रूपमा अभिषेक खड्का र आकृति राजभण्डारीलाई प्रस्तुत गरिएको ट्रेलरमा उनीहरूको प्रेमकथामा सामाजिक मूल्य–मान्यता र पारिवारिक दबाबले सिर्जना गर्ने द्वन्द्व तथा संघर्षलाई सशक्त रूपमा देखाइएको छ। साथै, फिल्ममा ट्रान्सजेन्डर समुदायसँग सम्बन्धित विषयवस्तु पनि समेटिएको संकेत ट्रेलरले दिएको छ।

‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल रोमान्टिक फिल्म निर्देशन गरेका दिनेश राउतले ‘कुमारी’ निर्देशन गरेका हुन्। करिब आठ वर्षपछि उनी पुनः प्रेमकथामा फर्किएका छन्। फिल्ममा अभिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ र सुकु शाहलगायत कलाकारहरूको अभिनय रहेको छ।

बिनिश इन्टरटेन्मेन्ट, पिक्चर फ्रेम र केन्द्र मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्, जसले यसअघि ‘प्रकाश’ निर्माण गरेका थिए। केदार भुसाल कार्यकारी निर्माता रहेको यस फिल्ममा सुशन प्रजापतिको छायांकन, विकास सुवेदीको कथा–लेखन, सुप्रिम पराजुलीको सम्पादन र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.