‘ब्याटल अफ गलवान’गीतमा सलमान संगै देखिए अनुप बिक्रम


एजेन्सी। फिल्म ‘ब्याटल अफ गलवान’मार्फत अभिनेता अनुप विक्रम शाहीले बलिउडमा पाइला टेक्ने खबर सार्वजनिक भएसँगै उनको भूमिकालाई लिएर चर्चा चुलिएको थियो । केहीले उनलाई सलमान खानको वरिपरि देखिने सानो भूमिकामा मात्र सीमित हुने अड्कल काट्दै टिप्पणीसमेत गरेका थिए । तर, शनिबार सार्वजनिक भएको फिल्मको ‘मातृभूमि’ गीतले ती सबै अनुमानलाई गलत सावित गरेको छ ।

अरिजीत सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको उक्त गीतको भिडियोमा अनुपलाई उल्लेखनीय रूपमा प्रस्तुत गरिएको छ । चिनियाँ सेनाको भूमिकामा देखिएका अनुप एक दृश्यमा सलमानसँग प्रत्यक्ष आमनेसामने हुन्छन् । सो क्षणमा अनुप हात जोडेर झुकेका छन् भने सलमानले नमस्कार फर्काउँछन्, जसले फिल्मको कथामा त्यो दृश्य निकै अर्थपूर्ण र महत्त्वपूर्ण हुनसक्ने संकेत गर्छ ।

सन् २०२० मा पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको वास्तविक झडपलाई आधार बनाएर निर्माण गरिएको फिल्ममा अनुप र सलमानबीच करिब १३ मिनेट लामो एक्सन दृश्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनुपले लद्दाख र मुम्बईमा गरी करिब २५ दिन छायांकन गरेका थिए । रोचक कुरा के छ भने, उनलाई यो फिल्मका लागि स्वयं सलमान खानले छनोट गरेको बताइन्छ ।

आगामी अप्रिल १७ (बैशाख ४) मा रिलिज हुने ‘ब्याटल अफ गलवान’मा सलमान खानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् । कर्नेल सन्तोष बाबुको जीवनकथामा आधारित यस बायोपिक फिल्म अपूर्व लाखियाको निर्देशनमा बनेको हो । फिल्ममा सलमान र अनुपसँगै चित्रांगदा सिंहको पनि प्रमुख भूमिका रहेको छ भने स्वर्गीय गायक प्रशान्त तामाङले समेत अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.