रविन प्याकुरेलको ‘जा मेरो मन’ले बटुल्दै छ दर्शकको ध्यान


काठमाडौँ । गायक कनकाइस्ट राईको स्वरमा रहेको तथा रविन प्याकुरेल फिचर्ड म्युजिक भिडियो ‘जा मेरो मन’ सार्वजनिक भएको छ। नरेन्द्र खनालको शब्द रचनामा तयार गरिएको यो गीत क्लासिकल–आधुनिक शैलीमा प्रस्तुत गरिएको छ, जसले सार्वजनिक भएको केही दिनमै दर्शकको राम्रो प्रतिक्रिया बटुल्न सफल भएको छ।

प्रेम, विछोड र धोकाको कथामा आधारित भिडियोमा रविन प्याकुरेल मुख्य भूमिकामा देखिएका छन्। यो उनको पहिलो म्युजिक भिडियो भए पनि अभिनय पक्षबाट उनी प्रशंसनीय देखिन्छन्। भिडियोमा प्याकुरेलसँगै विनोद थापा, सिर्जना गुरुङ र सुप्रिम राईको समेत अभिनय रहेको छ। सुन्दर लोकेसनमा गरिएको छायांकनले गीतलाई अझ आकर्षक बनाएको छ।

बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतले छोटो समयमै राम्रो चर्चा पाएको छ। विशेषगरी युवापुस्तामाझ गीत लोकप्रिय बन्दै गएको देखिन्छ। म्युजिक भिडियोको निर्देशन सुवास राईले गरेका हुन्।

लोकधुनमा आधारित आधुनिक गीतहरूमा चर्चित गायक कनकाइस्ट राईका ‘काठमाडौँको माया महँगो’, ‘मुटुभित्र देऊ न मलाई वास’, ‘नभेटेकै जाति बरु’, ‘गाउँले माया’, ‘पल पल बगिरहन्छु’, ‘प्रेमको फूल’, ‘जीवन मेरो नेपाल हो’, ‘आऊ निदरी आऊ’ जस्ता गीतहरू श्रोतामाझ निकै रुचाइएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.