‘बिगुल’को ‘वनकी कोइली’मा यशराज र ऋचाको नृत्य


काठमाडौँ। माघ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘बिगुल’को नयाँ गीत ‘वनकी कोइली वनमै रमायो’ सार्वजनिक गरिएको छ। लोकलयमा आधारित यस गीतले युवायुवतीबीचको प्रेम, आकर्षण र उमंगलाई सहज रूपमा प्रस्तुत गरेको छ। गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर, तथा शब्द–संगीत मनोज चौलागाईंको रहेको छ।

कमल राईको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अभिनेता यशराज गराज (सुरज) र अभिनेत्री ऋचा थापा ऊर्जावान र आकर्षक नृत्यमा देखिएका छन्। यो गीतमार्फत उनीहरू चलचित्रमा विशेष रूपमा प्रस्तुत भएका हुन्। भिडियोमा रमेश बुढाथोकी, बेनिशा हमाल, विनोद न्यौपाने, गीता अधिकारीलगायत कलाकारहरूको पनि उपस्थिति छ।

समसामयिक राजनीतिक र सामाजिक यथार्थलाई कथावस्तु बनाएको चलचित्र ‘बिगुल’लाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको कथा तथा निर्माण रहेको यस फिल्ममा नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित, जेएन घिमिरेलगायत कलाकारहरूको अभिनय छ।

फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको छ। विकृत राजनीतिक अवस्थाबाट उत्पन्न जननिराशा र युवापुस्ताको आक्रोशलाई ‘बिगुल’ले मुख्य कथावस्तुका रूपमा प्रस्तुत गर्ने जनाएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.