
काठमाडौँ। आउँदो पुस १० गते प्रदर्शनमा आउने फिल्म ‘मुगलान’ले आफ्नो नयाँ रोमान्टिक ‘मेरो प्रियमत’ सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको गीतको भिडियोमा प्रमुख कलाकार प्रभात पाल र स्मारिका ढकालको मनमोहक केमिस्ट्री देख्न सकिन्छ, जसले गीतलाई अझ आकर्षक बनाएको छ।
प्रताप दास र बेनिशा पौडेलको मधुर स्वरले सजिएको यस गीतका शब्द सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालको संगीतमा रिदम कँडेलको संगीत संयोजन छ भने मिक्सिङ–मास्टरिङको जिम्मा किशोर थापाले सम्हालेका छन्। भिडियोमा कोरियोग्राफी देबेन्द्र कुँवरले गरेका छन् र छायांकन अजय रेग्मीले गरेका छन्।
यसअघि सार्वजनिक ‘पिन्टु पियारी’ गीतलाई दर्शकले राम्रै प्रतिक्रिया दिएका थिए, र ‘मेरो प्रियमत’ ले त्यो उत्साहलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘मुगलान’मा प्रभात र स्मारिकासँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला समेत अभिनय गरेका छन्।
आशिष ढकाल लिखित तथा निर्देशित फिल्मको निर्माण गोमन सिंहले गरेका हुन्। निर्माता सिंहको यो पहिलो फिल्म हो भने रिता चौधरी सह–निर्माताको भूमिकामा छिन्। फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन तथा डीओपीका रूपमा अजय रेग्मीको भूमिकासमेत रहेको छ।
किरण भुसालको संगीतमा शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) को स्वर सुन्न सकिने ‘मुगलान’लाई आर आर फिल्म्सले वितरण गर्दैछ। ‘मेरो प्रियमत’ गीत युना इन्टरटेन्टमेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।


