
काठमाडौं। मंसिर २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पीआर’को प्रचारप्रसारलाई थप मजबुत बनाउन निर्माण टिम सक्रिय बनेको छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका फिल्मका मुख्य कलाकार आर.ए. सुरज पौडेल र विनिता कार्की निर्देशक शोभित बस्नेतसहित नेपाल फर्किएका छन्।
निर्देशक बस्नेत एक साताअघि अष्ट्रेलिया पुगेका थिए, जहाँ उनले विदेशी प्रदर्शन मिति मिलाउनेदेखि कलाकारहरूसँगको समन्वयसम्मका काम व्यस्ततामा बिताए। आइतबार साँझ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनले नायक–नायिकालाई लिएर नेपाल फर्किनुको मुख्य कारण फिल्मको प्रचारलाई अझ प्रभावकारी बनाउनु रहेको बताए।
“दर्शकमाझ फिल्म पुर्याउन कलाकारको भूमिकामा ठूलो प्रभाव पर्छ,” बस्नेतले भने, “त्यसैले नायक–नायिकालाई नै लिएर नेपाल फर्किएको हुँ, अब हामी व्यापक प्रचारमा जुट्छौँ।”
नायक सुरज पौडेलले पनि नेपाल आएको मुख्य उद्देश्य ‘पीआर’ लाई दर्शकमाझ अझ नजिक पुर्याउनु नै भएको बताए। “फिल्मका कलाकार खोजिँदैछ भन्ने चर्चा हामीले अष्ट्रेलियामै सुनेका थियौँ। त्यो कुराले नै हामीलाई नेपालसम्म तान्यो,” उनले भने।
फिल्ममा आर.ए. सुरज पौडेल र विनिता कार्कीका अलवा नीर शाह, गौरी मल्ल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायलको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन्।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेका ‘पीआर’ को निर्माण लक्ष्मण सापकोटा र प्रदीप दाहालले गरेका हुन्। फिल्मको लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, र छायांकन सौरभ सायमी तथा सौरभ लामाले सम्हालेका छन्। फिल्म वितरण आर.आर. फिल्म्सले गर्दैछ।


