
काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो। यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए।
उनका अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले सबैको माग अनुसार खरिद गरिएको हो। यसअघि यो फिल्म अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो । शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको भन्दै फिल्म र निर्माण पक्षको प्रशंसा गरेका थिए।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
यतिबेला निर्देशक बस्नेत यो फिल्मको प्रमोसन र त्यहाँको हलमा फिल्म रिलिजका लागि अष्ट्रेलियामा नै रहेका छन्। उनी यतिबेला अष्ट्रेलियामा नै फिल्मको प्रमोसनमा लागिरहेका छन्।
यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।
सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ। यस फिल्मका गीतमा मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको गायनलाई पनि सुन्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ।


