
काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेल को जन्मदिनको अवसर पारेर शनिबार यो गीत रिलिज गरेको हो ।
अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतको भिडियोमा अभिनेता पौडेल र अभिनेत्री बिनिता कार्की को रमाइलो नृत्य हेर्न सकिन्छ । गीतको भिडियो सलोमा युट्युब च्यानलमार्फत रिलिज गरिएको छ ।
गीतमा मानस राज को संगीत तथा सनुप पौडेल र नीतु पुन को स्वर रहेको छ । भिडियोको कोरियोग्राफी रामजी लामिछाने को रहेको छ ।
फिल्मको प्रमोसन र त्यहाँको हलमा रिलिजका लागि केही दिनअघि निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका थिए । उनले गीतको भिडियो रिलिज गर्दै ‘पीआर’ मा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउने विश्वास व्यक्त गरे ।
प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित यो फिल्म यहि मंसिर २६ गते बाट हलमा लाग्दैछ । फिल्ममा आर।ए।सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ल लगायत प्रमुख भूमिकामा छन् । फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने वितरण आर आर फिल्म्स ले गर्दैछ ।


