तेस्रो सातामा ‘परान’को यात्रा: कमाइ ७.५ करोड नाघ्यो, शो संख्या पुग्यो २१०


काठमाडौँ । वक्सअफिसमा अप्रत्याशित सफलता हासिल गर्दै आएको भावनात्मक पारिवारिक फिल्म ‘परान’ अब तेस्रो सातामा प्रवेश गरेको छ। दुई साताको प्रदर्शनमै फिल्मले ७ करोड ५० लाखभन्दा माथिको ग्रस कमाइ गर्दै वर्षकै बलियो कमाइ गर्ने फिल्ममध्ये एक बन्दै गएको छ।

तेस्रो साता सुरु हुँदै गर्दा पनि ‘परान’ले उत्कृष्ट शो संख्या पाएको छ। केवल आज (शुक्रबार) मात्र देशभरका हलहरूले २१० शो दिएका छन्। दर्शकको निरन्तर बढ्दो फुटफलका कारण हल सञ्चालकहरूले शो संख्या घटाउने होइन, उल्टै थप्ने निर्णय गरेका छन्। भोलि बिदाको दिनमा पनि यही स्तरको शो निरन्तर रहने अनुमान गरिएको छ।

नेपाली तथा हिन्दी पक्षबाट नयाँ ठूला फिल्म नआएको परिस्थितिमा ‘परान’ले वक्सअफिसमा अझै केही हप्ता बलियो यात्रा गर्ने विश्लेषण गरिन्छ। सुरुआतमा केबल ६४ शो र पहिलो दिन जम्मा ६ लाख ग्रस कलेक्सन पाएको फिल्म अहिले भने हरेक दिन दर्शकको मन जित्दै अगाडि बढिरहेको छ।

फिल्मले उठाएका विषयवस्तुले आम नेपाली परिवारको अनुभूति र वास्तविकतालाई समेटेकाले दर्शक तथा समीक्षक दुवैतर्फबाट प्रशंसा बटुलेको छ।

दीपक प्रसाद आचार्यको डेब्यू निर्देशनमा बनेको ‘परान’ बाइस्कोप सिनेमाको व्यानरमा निर्माण भएको हो, जसमा शेखर गोल्छा र रञ्जित आचार्य सह-निर्माता रहेका छन्।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.