
काठमाडौँ । रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’ को टिजर सार्वजनिक गरिएको छ। आइतबार निर्माण टिमले फिल्मको टिजर युना डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।
३९ सेकेण्डको टिजरमा एक आर्थिक अभावले पिल्सिएको युवकले आफ्नो परिवारलाई सुखी राख्न भारत पुग्ने कथा देखाइएको छ। टिजरमा विदेशमा उनले भोगेका कठिनाइ र घरमा साहुले गरेको अन्यायबीचको संघर्षलाई चित्रण गरिएको छ। परिवारको सुख र आफ्नै सपनाको खोजीमा लागेका युवाको कथाले नेपाली समाजको वास्तविकता झल्काउँछ।
‘मुगलान’ ले युवाहरूको विदेशप्रतिको मोह, गाउँघरको प्रेम, र जीवनसंघर्षको यथार्थलाई पर्दामा उतार्ने संकेत गरेको छ। आगामी पुष १० गते प्रदर्शनमा आउने फिल्ममा प्रभात पाल र स्मारिका ढकाल मुख्य भूमिकामा छन्। उनीहरूका अलावा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलाको पनि अभिनय रहेको छ।
फिल्मको लेखन तथा निर्देशन आशिष ढकालले गरेका हुन् भने गोमन सिंह निर्माता र रिता चौधरी सह–निर्माताको भूमिकामा छन्। फिल्ममा सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन जय बिष्ट र राम गुरु, संगीत किरण भुषाल,छायांकन अजय रेग्मी, र कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन्। फिल्मको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।



