टंकको चलचित्र ‘मन बिनाको धन’ पोस्टरमा अटाए सबै कलाकार


काठमाडौँ। निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झा समावेश छन्। यसअघि सार्वजनिक गरिएको पोस्टरमा भने केवल अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो।

टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको यो चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ। फिल्मको कथा बुढाथोकीले स्वयं लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्।

आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मन बिनाको धन’ की निर्माता बिष्णुमाया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छन्। जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सह-निर्माताका रूपमा रहेका छन्।

अशोक दर्जीले यही शीर्षकको गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बाट पहिलोपटक चर्चामा आएका थिए। टंक बुढाथोकीकै संगीतमा तयार उक्त गीतले दर्जीको जीवनमा नयाँ मोड ल्याएको थियो। हाल उनी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको संगीत निर्देशन टंक बुढाथोकीले गरेका छन् भने सौरभ लामाले छायांकन, कविराज गहतराज र रामजी लामिछानेले कोरियोग्राफी, मित्र डी. गुरुङले सम्पादन, र नवराज शर्माले मुख्य सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन्। चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा गर्नेछन्।

Copyright © 2012 - 2026 | All Right Reserved.