काठमाडौं । सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ ।
हाल ‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ । सँगसँगै दर्जनबढि देशमा यो ट्रेलर युट्यूवमा उत्कृष्ट १० ट्रेण्डिङ भित्र छ । नेपालसँगै नेपालीहरूको बाहुल्यता रहेका देशहरूमा यो ट्रेलरले अग्र स्थान ओगट्दा उच्च प्रशंसा पाएको छ ।
डिजिटल पार्टनर बुढासुब्बा डिजिटलको युट्यूवमा मात्रै हालसम्म झण्डै साढे ३ लाख पटक हेरिएको ट्रेलरमा २१ हजारबढि लाइक प्राप्त छ भने प्राप्त भएका ३ हजार प्रतिक्रिया सत् प्रतिशत् सकारात्मक छन् । डेढ वर्षपछि पर्दामा ब्याक हुन लागेका स्टार अभिनेता अनमोल केसी अभिनित चलचित्रले सामाजिक सञ्जालमा वर्ष २०८२ कै सर्वाधिक प्रतिक्षित चलचित्रको उपमा पाइको छ ।
चलचित्रको ट्रेलरमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ भेटेका छन् । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मको ट्रेलर शाहिल खानले तयार गरेका हुन् ।
सरोज न्यौपानेको निर्माण र अनन्या फिल्मस् को ब्यानरमा तयार ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त, उषा खड्गी अभिनयमा छन् । असोज ३१ गतेबाट फिल्म दर्शकमाझ आउँदैछ भने राजधानीमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले यो चलचित्रको प्रदर्शन अधिकार लिएका छन् । अन्तर्राष्ट्रिय बजारमा चलचित्रको उच्च माग आइरहेको निर्माता न्यौपानेले बताए ।