काठमाडौँ। नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदमस्वरूप बनेपामा निर्माणाधीन अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ।
शुक्रवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो।
‘सिनेपा: स्टुडियो’ परियोजना नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउँदै फिल्म निर्माताहरूलाई एकीकृत स्थानमा सम्पूर्ण सेवा उपलब्ध गराउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले अघि बढाइएको हो।
स्टुडियोमा अत्याधुनिक फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स (VFX), कलर ग्रेडिङ र पोस्ट–प्रोडक्सनका सम्पूर्ण सुविधाहरू रहनेछन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भने, “काभ्रेको ऐतिहासिक सहर बनेपामा निर्माण भइरहेको ‘सिनेपा: स्टुडियो’ नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुवात हुनेछ। यो केवल स्टुडियो होइन, हाम्रो सिनेमा क्षेत्रको भविष्यमा गरिएको लगानी हो।”
स्टुडियो निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीहरूलाई पोस्ट–प्रोडक्सनका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। साथै यसले फिल्म पर्यटन, रोजगारी सिर्जना र सीप विकासमा पनि उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ।
सम्झौता कार्यक्रममा मन्त्रालयका कर्मचारीहरू सहित चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गिरीश शर्माको पनि उपस्थिति रहेको थियो।