काठमाडौं। अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’लाई स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन्। उनले भने, “मान्छे जस्तो सुकै होस्, आवरणमा भने ऊ समाजमा वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ। यही कुरा यो चलचित्रमा देखाइएको छ।”
फिल्ममा दयाहाङले स्थापित पात्रको भूमिका निभाएका छन् भने उनलाई टक्कर दिने पात्र विजय बराल हुन्। विजयका अनुसार फिल्म एक सामान्य व्यक्तिबाट वरिष्ठ बन्ने चाहनाको कथा हो। उनले भने, “चलचित्रमा मेरो नाम बले हो। तर, ‘वरिष्ठ बलराम’ को हो भन्ने कुरा फिल्म रिलिजपछि थाहा हुनेछ।”
विजयले अग्रज कलाकारसँग टकराब लिँदा सुरुवातमा केही कठिनाइ भएको बताउँदै भने, “दयाहाङ दाइले अफ्ठ्यारो नमान, चरित्रमा जाऊ भनेपछि सहज भयो।”
दयाहाङले भने सेटमा सिनियर–जुनियर भन्ने कुरा नरहेको र चरित्रकै प्राथमिकता हुने बताए। उनले ‘दासढुंगा’मा अनुप बरालसँग गरेको कामको अनुभव सम्झिँदै भने, “चरित्रभन्दा माथि जानु हुँदैन, चरित्र निभाउन हिचकिचाउनु हुँदैन।”
नायिका समृद्धि अर्यालले आफू शो पिस मात्रै नभएको बताउँदै भनिन्, “दुई लिड क्यारेक्टरबीच मेरो भूमिका पनि प्रभावशाली छ। जहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल सीन हुन्छ।”
सुरेन्द्र पौडेल निर्देशित ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुँदैछ। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।
फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ। काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले फिल्म वितरण गर्नेछन्।