काठमाडौं । दयाहाङ राई र विजय बराल फेरि एकपटक एउटै पर्दामा यसपटक चलचित्र ‘वरिष्ठ बलराम’ मार्फत देखिँदैछन्। ‘कबड्डी’ श्रृंखलादेखि ‘जारी’सम्म साथसाथै यात्रा गरेका यी दुई कलाकार पुनः जोडी बाँधेर आएका हुन्।
चलचित्रका पोस्टर, मोसन पोस्टर तथा टिजरमा दुवैलाई समान महत्त्वका साथ प्रस्तुत गरिएको छ। टिजरमा दयाहाङ र विजयबीचको नोकझोक र आपसी द्वन्द्वले फिल्ममा हल्का हाँस्य रसिलो वातावरणको आभास दिन्छ।
केही समयअघि सार्वजनिक ‘न्यौली बनैमा’ गीतमा भने विजय बराल र समृद्धि अर्यालको जोडी देखिन्छ, जहाँ दयाहाङ अनुपस्थित छन्। यही कारणले फिल्मको मुख्य पात्र को हो भन्नेबारे दर्शकमाझ उत्सुकता बढेको छ। दयाहाङको फिल्मी उपस्थितिलाई हेर्दा उनी नै मुख्य भूमिकामा हुने अनुमान छ। तर पछिल्ला वर्षहरूमा ‘पूर्ण बहादुरको सारङ्गी’पछि विजय पनि लगातार मुख्य भूमिकामा देखिँदै आएका छन्, जसले यो उत्सुकतालाई झनै रोचक बनाएको छ।
‘बलराम’ नाम मंगोल समुदायमा सामान्यतया कम प्रयोग हुने भए पनि क्षेत्री–ब्राह्मण समुदायमा भने प्रचलित छ। यसैले फिल्मको शीर्षक पात्र कसलाई जनाउँछ भन्ने प्रश्न पनि दर्शकबीच उठ्न थालेको छ।
अघिल्ला चलचित्रहरूमा दयाहाङको साथीका रूपमा देखिँदै आएका विजय यसपटक कस्तो भूमिकामा देखिन्छन् भन्नेबारे निर्माण पक्षले सस्पेन्स राखेको छ। तर, दुईबीचको टकराव र नोकझोक फिल्मको प्रमुख आकर्षण हुने निश्चित छ।
‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गते भाइटीकाको दिन रिलिज हुँदैछ। चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।
चलचित्रको कथा तथा सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति तथा आन्भी फिल्मसको सहकार्यमा बनेको यो चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।
मानकृष्ण महर्जनले छायांकन गरेका चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ। वितरणको जिम्मा काठमाडौं उपत्यकाभित्र डीसीएनले र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।