चलचित्र ‘बलिदान’ की मुख्य नायिका कविता राय किन बेपत्ता जस्तै ?


काठमाडौँ। गत फागुन २३ गते चलचित्र ‘बलिदान’ की मुख्य नायिका कविता रायको फर्स्ट लुक सार्वजनिक गरिएको थियो। यसअघि नायक समीर भट्टको लुक सार्वजनिक गरिसकेपछि निर्माण पक्षले कविताको लुक सार्वजनिक गर्दै उनलाई मुख्य भूमिकामा प्रस्तुत गरेको थियो। तर, फर्स्ट लुक सार्वजनिक भएको महिनौँ बितिसक्दा पनि नायिका कविता प्रचार–प्रसारमा कतै देखिएकी छैनन्।

चलचित्रको ट्रेलरमा उनी छोटकरीमा देखिए पनि, त्यसबाहेक उनले आफ्ना सामाजिक सञ्जालमा ‘बलिदान’ सम्बन्धी कुनै पनि सामग्री शेयर गरेकी छैनन्। न त ट्रेलर, गीत, पोस्टर वा अन्य प्रचार सामग्रीमा उनको संलग्नता देखिएको छ। म्युजिक भिडियोमार्फत फिल्म क्षेत्रमा प्रवेश गरेकी कविता ‘बलिदान’ बाट नै ठूलो पर्दामा डेब्यु गर्दैछिन्।

फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दा निर्देशक सन्तोष सेनले लेखेका थिए— “राज्यको मूलधारबाट किनारिएका ‘भिल्ला’ समुदाय बसोबास गर्ने ‘भिल्लमगढ’मा महिलामाथि हुने सामाजिक उत्पीडन र त्यसभित्रका कमजोरीको फाइदा उठाएर कुटिल नेताले गर्ने ‘युज एन्ड थ्रो’ को कथामा आधारित यो फिल्ममा ‘किरण’ नामक पात्रलाई जीवन्त बनाउन सक्षम अभिनेत्रीको आवश्यकता थियो। कविता राय त्यही पात्रका लागि उपयुक्त थिइन्।”

तर, त्यसपछि भने कविता सार्वजनिक रुपमा कतै देखिएकी छैनन्। प्रचारमा निर्माण टिमले नायक समीर भट्टको एक्सन सीक्वेन्सलाई मात्र जोड दिइरहेको छ। तर, चलचित्रलाई सफल बनाउन एक्सन मात्र पर्याप्त हुँदैन, बलियो कथा र भावनात्मक तथा रोमान्टिक पाटो पनि उत्तिकै जरुरी हुन्छ। यहीबीच नायिका कविताको अनुपस्थितिले धेरैलाई कौतुहल बनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.