चलचित्र ‘परिवार’को पहिलो गीत रातो टिका सार्वजनिक


काठमाडौं । दसैंको घटस्थापनाको अवसर पारेर चलचित्र ‘परिवार’मा समावेश पहिलो गीत रिलिज गरिएको छ। निर्माण पक्षले युएनए डिजिटलमार्फत गीतको भिडियो रिलिज गरेको हो।

यसै फिल्मको गीतको भिडियो रिलिज गर्दै आजैबाट युएनए डिजिटल यात्रा औपचारिक रूपमा सुरु गरेको छ। नेपाली फिल्मलाई विश्वबजारसम्म पुर्‍याउने उद्देश्यसहित सुचारु गरिएको युएनए डिजिटलका बोर्ड म्यानेजर तब्रेज अली शेखले बताए।

उनका अनुसार यस यात्राको पहिलो प्रस्तुतिका रूपमा, मदन थापा निर्देशित फिल्म ‘परिवार’ को दसैं गीत सार्वजनिक गरिएको हो। गायक बाबुल गिरी र गायिका बबी लिम्बुको स्वर रहेको उक्त गीतमा मुख्य कलाकार लक्ष्मी बर्देवा र कामेश्वर चौरासियालाई प्रस्तुत गरिएको छ। गीतले दसैंको उल्लास, पारिवारिक माया र नेपालीपनको मौलिकता समेट्दै दर्शकलाई चाडपर्वको भावनासँग जोड्ने उद्देश्य लिएको छ।

युएनएले यसअघि जापानमा नेपाली फिल्म प्रदर्शनमार्फत आफ्नो यात्रा सुरु गरेको थियो। त्यसपछि ‘जहाजैमा’लगायतका फिल्म निर्माण गर्दै आएको कम्पनीले अब डिजिटल प्लेटफर्ममार्फत नयाँ फड्को मारेको हो। निकट भविष्यमा युएनए डिजिटल एप को माध्यमबाट आफ्नै भिडियो प्रसारण सेवा (ओटीटी) सुरु गर्ने योजना रहेको जानकारी दिइएको छ।

यस अवसरमा युएनए डिजिटलका बोर्ड म्यानेजर शेखले भने,‘निकट भविष्यमा अझ विस्तृत रूपमा अघि बढ्ने योजनामा छौं। नेपाली चलचित्र र गीत–संगीतलाई नयाँ ढंगले प्रस्तुत गर्दै विश्वबजारसम्म पुर्‍याउनु हाम्रो मुख्य लक्ष्य हो।’

दसैंको सुरुवातसँगै सार्वजनिक गरिएको यस गीत र डिजिटल अभियानले नेपाली चलचित्र क्षेत्रमा नयाँ सम्भावना र अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.