काठमाडौं। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्र ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन्।
यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन्। उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ। ‘परान’ दसैं र तिहारलगत्तै कार्तिक १४ (अक्टोबर ३१) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।
यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ। पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू उब्जाएको छ। निर्माणपक्षले भने कथाबारे केही कुरा खुलाएको छैन। ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ छ। जसले फिल्मको मूल सन्देश एकअर्काको साथको महत्त्वलाई जोड दिएको आँकलन गर्न सकिन्छ।
देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमाले ‘परान’ को निर्माण गरेको हो। दीपक आचार्यकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।
चलचित्रमा वरिष्ठ अभिनेता नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। निर्देशक दिपक आचार्यको शब्द, रिदम कँडेलको सङ्गीत रहेको छ।
चलचित्रका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाई हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा शिवराम श्रेष्ठको डीओपी र मित्र डी. गुरूङको सम्पादन छ। फिल्ममा कोरियोग्राफी सुनिल क्षेत्रीको छ ।