हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर


काठमाडौँ। निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘कोशेढुङ्गा’ ले सोमबारदेखि पुनः प्रदर्शन निरन्तरता पाएको छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले दोस्रो सातासम्म उच्च अकुपेन्सीसहित दर्शक आकर्षित गरिरहेको थियो। तर, भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हल बन्द भएपछि यसको प्रदर्शन स्थगित भएको थियो। सोमबारदेखि हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’ पुनः दर्शकमाझ आएको हो।

निर्माण पक्षका अनुसार हल बन्द हुनु अघि नै चलचित्रले उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाइरहेको थियो, र हल खुलेसँगै पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा उनीहरू विश्वस्त छन्। निर्देशक पौडेलले भने, “हाम्रो चलचित्रलाई हेर्ने दर्शकले राम्रो भन्नुभएको छ। अब पनि त्यस्तै साथ र सहयोग पाउनेमा आशावादी छौँ।”

चलचित्रका निर्माता किशोर अनुरागले पनि मोफसलका विभिन्न स्थानमा दर्शकसँग प्रत्यक्ष भेटघाट हुँदा निकै सकारात्मक प्रतिक्रिया पाएको बताए। “देशभरका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ। ठुलो संख्यामा दर्शक हलमा आउनेमा हामी ढुक्क छौँ,” उनले भने।

नरदेवी फिल्मस्को प्रस्तुतिमा बनेको ‘कोशेढुङ्गा’ का लेखक पनि निर्देशक पौडेल स्वयं हुन्। चलचित्रमा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहेको छ। साथै सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा र सविता रेग्मी पनि समावेश छन्।

चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलको संगीत यसमा समावेश छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.