‘जिरो डिग्री’ घोषणा, विजय बराल मुख्य भूमिकामा


काठमाडौं । ‘बेहुली फ्रम मेघौली’ का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन्। सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको घोषणा गरिएको हो।

चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्। ‘जिरो डिग्री’को कथा सडक सुविधा नभएको गाउँमा केन्द्रित छ। कथाअनुसार विदेशमा रहेका छोराछोरी फर्कुन्जेलसम्म मातापिताको शव जोगाउन गाउँमा डीप फ्रिज बोकेर ल्याइएपछि उत्पन्न हुने परिस्थितिमा कथानक घुम्छ। निर्देशकद्वयका अनुसार यसमा हल्का कमेडीको स्वाद पनि मिसाइएको छ।

चलचित्रमा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्। सार्वजनिक पोस्टरमा कथाको मुख्य प्रतीक डीप फ्रिजलाई केन्द्रीय रुपमा प्रस्तुत गरिएको छ। ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको उक्त पोस्टरमा केही मानिसहरूले फ्रिज बोकेर खोला तारिरहेको दृश्य देखाइएको छ। परम्परागत पोस्टरमा कलाकारको अनुहार वा ठूला दृश्य रहने प्रचलनलाई तोड्दै यहाँ कथानककै महत्त्वपूर्ण वस्तुलाई केन्द्रमा राखिएको छ।

चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। छायांकन तिहारपछि सुरु हुने र आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। चलचित्रका गीतमा अङ्कित बाबु अधिकारीले संगीत दिनेछन् भने ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.