एजेन्सी । सुपरस्टार रजनीकान्तले ७४ वर्षको उमेरमा पनि आफ्नो स्टारडम कायमै रहेको प्रमाणित गरेका छन् । उनको नयाँ फिल्म ‘कुली’ ले प्रदर्शनको सुरुवाती दुई दिनमै विश्वव्यापी बक्स अफिसबाट २५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेर तहल्का मच्चाएको छ । यस वर्ष यो आँकडा पार गर्ने पहिलो तमिल फिल्म समेत बनेको छ ।
स्वतन्त्रता दिवसको बिदाको फाइदा उठाउँदै फिल्मले पहिलो दिनदेखि नै शानदार कमाइ गरेको हो । लोकेश कनगराज निर्देशित ‘कुली’ ले रजनीकान्तको करिअरकै सबैभन्दा ठूलो हिट बन्न सक्ने सम्भावना देखाएको छ ।
दक्षिण भारतीय फिल्महरूको खासियत नै बम्पर ओपनिङ भए पनि दोस्रो दिन आम्दानी घट्ने परम्परा हुन्छ । तर ‘कुली’ले दर्शकको उच्च प्रतिक्रिया र बिदाको कारण दोस्रो दिनमा पनि अपेक्षाकृत स्थिर कारोबार गर्न सफल रह्यो । पहिलो दिनको तुलनामा करिब १७.५ प्रतिशत मात्र गिरावट आएको थियो ।
भारतभित्र फिल्मले दुई दिनमै ११८.५० करोड रुपैयाँ नेट (१४५ करोड ग्रस) संकलन गरेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि ऐतिहासिक प्रदर्शन गरेको छ । पहिलो दिन विदेशबाटै ८.७५ मिलियन अमेरिकी डलर कमाउँदै अहिलेसम्मकै ठूलो तमिल ओपनिङको रेकर्ड बनाएको ‘कुली’ले, दोस्रो दिन केही कमी भए पनि, दुई दिनमा कुल १३ मिलियन डलर (करिब ११० करोड भारतीय रुपैयाँ) नाघेको व्यापार विश्लेषकहरूको अनुमान छ ।
यससँगै ‘कुली’ ले दुई दिनमै विश्वव्यापी रूपमा २५० करोड भारु पार गर्दै बक्स अफिसमा धमाका मच्चाएको छ ।