‘नखरा’ बोलको तीज गीतको भिडियोले पायो राम्रो प्रतिक्रिया


काठमाडौँ। गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वरमा तयार तीज गीत ‘नखरा’ ले युट्युबमा श्रोतादर्शकको उल्लेखनीय साथ पाएको छ। करिब दुई हप्ता अघि सार्वजनिक गरिएको यस गीतले छोटो समयमै राम्रो प्रतिक्रिया बटुल्दै राम्रो स्थान बनाउन सफल भएको छ।

गीतले पाएको लोकप्रियतापछि गायक आलेले राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै दर्शक, श्रोता तथा सहयोगीहरूलाई आभार व्यक्त गरे। सो अवसरमा गीत र भिडियोमा संलग्न कलाकार तथा प्राविधिकलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

‘ढले ढले’ बोलको गीतबाट चर्चामा आएकी गायिका शान्तारानी र सम्भावनाशील गायकका रूपमा स्थापित श्रीकृष्ण आलेको दमदार स्वरमा तयार ‘नखरा’ मा रविन शाहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

भिडियोमा मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय देख्न सकिन्छ। छमछम नचाउने शैलीको यस गीतको कोरियोग्राफी र निर्देशन पनि रविन शाहकै रहेको छ। निर्देशक शाहले तीजमा महिलाहरूको ‘नखरा’लाई रमाइलो ढंगले प्रस्तुत गरेका छन्। मोडल जुना र सरितालाई उनले बोल्ड लुक्समा प्रस्तुत गरेका छन् भने उनीहरूको हट अवतार र ड्रेसअपले भिडियोलाई अझ आकर्षक बनाएको छ।

राजेश घिमिरेको छायांकन तथा दीपक विष्टको सम्पादन र कलरिङले भिडियोलाई थप आकर्षक बनाएको छ। ‘नखरा’ गीतको भिडियो गायक श्रीकृष्ण आलेको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.