‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम


काठमाडौँ। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा सिनेमाको टिमको सक्रिय सहभागिता रहेको थियो ।

आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ-संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा सिनेमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो ।

कलाकार, निर्माता तथा निर्देशकलगायत सिनेमासँग सम्बन्धित सम्पूर्ण टोली आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित सहभागी थिए । सिनेमाको निर्माण टिमसहित आदिवासी जनजाति समुदायका अभियानकर्ता हातमा ब्यानर, प्लेकार्ड र सिनेमाको नाम अंकित पोस्टर बोकेर परम्परागत धुनमा नाचगान गर्दै सहभागीलाई सिनेमाप्रति आकर्षित पारेका थिए ।

सिनेमा ‘रिमै’ टिमका सदस्यले आदिवासी दिवसलाई केवल उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीकका रूपमा लिएको बताए । सिनेमाका निर्देशक खिल बहादुर गुरुङले सिनेमामार्फत पनि आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सहभागिताले कलाकार तथा सिनेमाकर्मी पनि सामाजिक तथा सांस्कृतिक मुद्दाप्रति सचेत र प्रतिबद्ध रहेको सन्देश दिएको दाबी निर्देशकसहितको टिमको छ । साथै, र्‍यालीमा सहभागी दर्शक तथा समर्थकले ‘रिमै’ टिमको पहिचानमूलक उपस्थितिको प्रशंसा गर्दै सिनेमा हेर्ने उत्सासहित रहेको प्रतिक्रिया दिएका थिए ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.