काठमाडौं। नेपाली बक्स अफिसमा यस साता दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ‘मोहर’ र ‘सिटामोल’। वर्षको पहिलो त्रैमासिकमा ‘ऊनको स्वीटर’ बाहेक अन्य फिल्महरूले खास व्यापार गर्न नसकेको पृष्ठभूमिमा आएका यी चलचित्रहरूप्रति दर्शक र वितरकको अपेक्षा निकै ठूलो देखिएको छ।
रोचक त के भने, दुबै चलचित्रमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा देखिएकी छन्। ‘मोहर’, निर्देशक ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको चलचित्र हो, जसले समाजमा अझै कतै कतै पाइने देउकी कुप्रथाको कथा बोकेको छ। फिल्ममा पल शाह, नीति शाह, अर्जुन जङ्ग शाही, लक्ष्मी गिरी लगायतका कलाकारको पनि अभिनय छ। फिल्मका निर्माता चुम्बनजंग शाही हुन्।
त्यसैगरी, राजबहादुर साने निर्देशित ‘सिटामोल’ मा लेखनको जिम्मेवारी उनले आफैं र प्रदीप भारद्वाजले बाँडेका छन्। यसमा सौगात मल्ल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा लगायतको अभिनय रहेको छ। फिल्मका प्रस्तुतकर्ता ‘जन्ते बाख्रो’ का निर्देशक सिमोस सुनुवार हुन्।
देशभरि यी दुवै फिल्मले करिब बराबरी संख्यामा शोहरू पाएका छन्, यद्यपि ‘मोहर’ ले थोरै अग्रता लिएको देखिन्छ। प्रारम्भिक बुकिङको आधारमा हेर्दा, यी चलचित्रहरूको भविष्य ‘वर्ड अफ माउथ’ मा निर्भर हुने देखिएको छ।