चलचित्र ‘जनै हराएको मान्छे’को टिजर युट्युब ट्रेन्डिङमा, दर्शकमाझ बढ्यो व्यग्र प्रतीक्षा


काठमाडाैँ। आगामी भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को आधिकारिक टिजरले युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गर्दै चौथो स्थानमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

गत मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ । यो समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ ।

सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्दै टिजरले चलचित्रप्रति दर्शकको तीव्र उत्सुकता र सकारात्मक प्रतिक्रियालाई प्रमाणित गरेको छ ।

युट्युब कमेन्टहरूमा दर्शकहरूले टिजरको प्रशंसा गर्दै विजय बरालको दमदार अभिनयको खुलेर तारिफ गरेका छन् । साथै, धेरै दर्शकहरूले चलचित्रमा उठान गरिएको कोरियाको कथालाई समसामयिक र मन छुने विषयका रूपमा लिएको देखिन्छ ।

हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रको टिजरले एक साधारण नेपाली युवाको सपना, संघर्ष र सम्बन्धहरूमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गर्छ । टिजरमा मुख्य अभिनेता विजय बराललाई पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर पसेको एक महत्त्वाकांक्षी युवाको भूमिकामा देखाइएको छ । सहरको कठिन जीवनशैली, नयाँ प्रेमको सुरुवात र गाउँमा छाडिएकी दिदीसँगको भावनात्मक द्वन्द्वले कथावस्तु गहिरो र मार्मिक रहने संकेत गर्छ ।

टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगरलाई पनि मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने अनुमान गर्न सकिन्छ ।

चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगरका अलावा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो चलचित्रलाई यस वर्षको एक बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.