रकस्टार विनोद ढकालको अभिनय डेब्यु : ‘किन लाग्छ माया’ मार्फत नयाँ अध्याय सुरु


काठमाडौं। सशक्त स्वर र भावपूर्ण प्रस्तुति मार्फत संगीत र डबिङ क्षेत्रमा बेग्लै पहिचान बनाएका रकस्टार विनोद ढकाल अब अभिनयको यात्रामा होमिएका छन्। एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माणाधीन चलचित्र ‘किन लाग्छ माया’ बाट उनले अभिनयमा डेब्यु गरेका हुन्।

निर्माता मोनु खड्का र निर्देशक कुवेर तामाङको नेतृत्वमा बनेको यस फिल्मको छायांकन असारको पहिलो साता काठमाडौंबाट सुरु भइसकेको छ। पारिवारिक सम्बन्ध, दाजुभाइको आत्मीयता, त्याग र सामाजिक यथार्थ बोकेको कथामा आधारित चलचित्र ‘किन लाग्छ माया’ले भावनात्मक रूपमा दर्शकलाई छुने विश्वास निर्माण टिमले लिएको छ।

फिल्ममा ढकालसँगै धिरेन शाक्य, पवित्रा साकी (मिस पबी), राजेन्द्र खड्की, सुनिल कटुवाल, रविन्द्र खड्का, संजीत भण्डारी, ऋचा थापा, जानबी बस्नेत, हिम्वला गौतम, गीता अधिकारी, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, मेघ सुवेदी, महारानी, निरोज खुलाल लगायत कलाकारहरूको अभिनय रहनेछ।

छायांकन काठमाडौं, पोखरा, चितवन, मुस्ताङ र पूर्वी नवलपरासीका रमणीय स्थलहरूमा हुनेछ। फिल्मको कथा ‘स्याडो रियर’को अवधारणामा आधारित छ भने पटकथा तथा संवाद रामकाजी घिमिरेले लेखेका हुन्। छायांकनमा रामशरण उप्रेती, संगीतमा पुष्कर सुनुवार, नृत्य निर्देशनमा रामजी लामिछाने र अभि वाग्ले, तथा एक्सन निर्देशनमा राजेन्द्र खड्की रहेका छन्।

विनोद ढकालको सांगीतिक र डबिङ यात्राको छोटो झलक: टेलिभिजन सिरियल ‘किलो ट्याङ्गो माइक’ मार्फत दर्शकमाझ आएका ढकालले चर्चित गीत ‘कामना’ र ‘कायर लाछिहरु’ जस्ता म्यूजिक भिडियोहरूमा प्रमुख भूमिका निर्वाह गरिसकेका छन्। उनी डबिङ, जिंगल, डकुमेन्ट्री, विज्ञापनदेखि फिल्म संगीत र एकल गीतमार्फत पनि दर्शक–श्रोतामाझ परिचित छन्।

अब भने, ‘किन लाग्छ माया’ मार्फत उनी अभिनयमा डेब्यु गर्दैछन्, जसले उनको बहुआयामिक प्रतिभालाई पर्दामा ल्याउनेछ। दर्शकहरूका लागि यो नयाँ अवतार निश्चय नै रोचक र प्रेरणादायी बन्नेछ।