चलचित्र पत्रकार संघको दोश्रो राष्ट्रिय भेला श्रीअन्तु घोषणापत्र सार्वजनिक


काठमाडौँ। चलचित्र पत्रकार संघले २६ औँ स्थापना दिवसको अवसरमा इलामको प्रसिद्ध पर्यटकीय स्थल श्रीअन्तुमा विशेष कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ । जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान पुर्‍याउने ७ जना पत्रकारलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरियो ।

कार्यक्रमअन्तर्गत पहिलो दिन ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ र ‘पुरस्कार तथा सम्मान प्रदान समारोह’ आयोजना गरियो भने दोस्रो दिन ‘सिनेमा र पर्यटन’ विषयमा संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो ।

समारोहमा ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ (रु. ५५,५५५ नगदसहित), विष्णु सुवेदी, नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवनकुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई रु. ५१,००० नगदसहित) प्रदान गरियो ।

रश्मि थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र तुलसीप्रसाद निरौलालाई कोसी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई रु. २५,००० नगदसहित) प्रदान गरियो ।

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री वसुन्धरा भुसाल र गौरी मल्ल, अभिनेता शिव श्रेष्ठ, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, निर्माता मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, नवीन श्रेष्ठसहित १५० भन्दा बढी चलचित्र पत्रकार सहभागी थिए ।

कार्यक्रममा सहभागी पत्रकारले श्रीअन्तुको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै उक्त क्षेत्रलाई चलचित्र छायाङ्कनको लागि उपयुक्त खुला स्टुडियोका रूपमा प्रवर्धन गर्ने प्रतिबद्धता जनाए ।

संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ‘श्रीअन्तु घोषणा पत्र’ घोषणा भएको छ । घोषणापत्रमा नेपाली फिल्म बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य, समन्वय गरी प्रोत्साहन र प्रवर्धनका गर्न पनि आग्रह गरिएको छ ।