काठमाडौँ । ‘होस्टेल ३’ को सफलतापछि सृजनात्मक टिमले नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ निर्माणको घोषणा गरेको छ। सम्मान इन्टरटेन्मेन्टद्वारा निर्मित यो चलचित्रले दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई पर्दामा उतार्नेछ।
निर्देशक सशान कँडेलले चलचित्रले पुस्तान्तरको बदलिँदो गतिशीलतामाथि प्रकाश पार्ने बताए। लेखक माधव शर्माका अनुसार, नेपाली समाजमा बढ्दो पुस्तागत खाडल र नयाँ पुस्ताले भोग्ने दुर्व्यसनको यथार्थलाई कथामा समेटिनेछ। रोयल भीमसेनद्वारा डिजाइन गरिएको टाइटलमा ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ को अवधारणालाई चित्रण गरिएको छ।
‘होस्टेल ३’ पछि कँडेल र शर्माको दोस्रो सहकार्यमा बन्न लागेको यो चलचित्रको स्क्रिप्ट अन्तिम चरणमा छ। कार्यकारी निर्माता शंकर कोइराला रहेको यस चलचित्रको कलाकार, छायांकन र प्रदर्शन मितिबारे चाँडै जानकारी दिइने निर्माण टिमले जनाएको छ।