काठमाडौँ। अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा स्टारर चलचित्र ‘जार’को ग्राण्ड भारत प्रिमियर सिलिगुडीमा सम्पन्न भएको छ । शनिबार आयोजित प्रिमियर शोमा अभिनेता अनुपविक्रम शाही केन्द्रमा रहे ।
प्रमुख कलाकारको रूपमा एकल प्रतिनिधित्व गरेका शाही स्थानीय दर्शक तथा शुभचिन्तकहरूबाट घेरिएका थिए । सिटी सेन्टरमा अवस्थित ‘पिभिआर आइनक्स’ सिनेमाजमा आयोजित भव्य समारोहमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो । सिलिगुडीबासी नेपाली तथा नेपाली भाषीहरूले निर्माण टिम र कलाकारहरूसँगै रहेर सयौं वर्ष पहिलेको नेपाली समाजको यथार्थतालाई एकसाथ नियाल्ने अबसर पाए ।
अभिनेता शाहीले नेपाली चलचित्रलाई माया दिने भारतबासीलाई धन्यवाद दिँदै यो प्रकारको माया निरन्तर पाउने अपेक्षा राखे । दुई दिन पहिले मात्रै सिक्किममा सम्पन्न वर्ल्ड प्रिमियरमा प्राप्त प्रतिक्रियामा खुशी साटेको निर्माण टिमलाई सिलिगुडी प्रिमियरले थप उत्साहित बनाएको छ । नेपाली निर्देशक अनमोल गुरुङले ‘जार’ नेपाली चलचित्र क्षेत्रको लागि एउटा नयाँ प्रयोग बनेको बताए । एक प्रतिभावान निर्देशक नेपाली चलचित्र उधोगले पाएको भन्दै उनले निर्देशक फुर्वाछिरिङ लामाको खुलेर तारिफ गरे ।
निर्देशकीय पाटोसँगै कलाकारहरूको अभिनय, सिनेमाटोग्राफर सरवानन इलावार्सुको छायांकन, सम्पादन र चलचित्रको विजिएमलाई धेरै दर्शकले तारिफ गरे । ‘जार’ कमर्सियल र आर्टको फ्यूजन भएकोले यो चलचित्र मनोरञ्जनमुलकसँगै नेपाली समाजको एक दस्तावेज बनेको भन्दै हेर्नैपर्ने सूचीमा राख्नुपर्ने भारत प्रिमियरमा हेर्ने दर्शकको प्रतिक्रिया थियो ।
भारतमा सम्पन्न प्रिमियरमा पाएको प्रतिक्रियाले चलचित्र यहि बैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउँदा दर्शक आकर्षणको लागि ठुलो सघाउ पुग्ने विश्वास कार्यकारी निर्माता पेमा रिन्जिङ लेप्चाको छ । ‘जुन मेहनतले हामीले ‘जार’ तयार गरेका छौं, भारतमा सम्पन्न प्रिमियरबाट प्राप्त प्रतिक्रियाले एक प्रकारको सन्तुष्टि मिलेको छ, उनले भने ‘सोहि प्रकारको साथ र प्रेम नेपाली दर्शकबाट पनि प्राप्त हुने विश्वास छ ।’
यो चलचित्रलाई अखिलेश राईले सम्पादन गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र निर्माण भएको हो । वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राईको सु-प्रसिद्ध कथा ‘जार’लाई निर्देशक लामाले दृश्य भाषामा उतारेका हुन् ।