‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक, खेलकुद क्षेत्रको गान बन्ने निर्देशकको विश्वास


काठमाडौ। चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ। लोकराज अधिकारीको शब्द र हरि लम्सालको संगीतमा तयार भएको गीतमा गायिका बबिना किराँतीको स्वर रहेको छ। गीतलाई ऊर्जाशील र प्रेरणादायी मानिएको छ।

गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले यो गीतलाई खेलकुद क्षेत्रका लागि अत्यन्त विशेष रहेको बताउँदै भने, “अबदेखि हरेक खेलमा स्टेडियममा यो गीत गुन्जिनुपर्छ। राष्ट्र, खेलाडी र खेलकुदको भावना बोकेको यो गीत नेपालको ‘स्पोर्ट्स एन्थम’ हुन सक्छ। एन्फाले यसतर्फ पहल गर्नुपर्छ।”

फागुन २९ गते फागु पूर्णिमाको अवसरमा प्रदर्शनमा आएको ‘अञ्जिला’ हाल चौथो सातासम्म आइपुगेको छ। नेपालमा सुपरहिट सावित भइसकेको चलचित्र विभिन्न देशहरूमा समेत प्रदर्शन भइरहेको छ।

फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ। बाल्यकालदेखि व्यावसायिक खेल यात्रासम्मको संघर्ष र सफलताको कथा समेटिएको फिल्ममा एन्जिला आफैं मुख्य भूमिकामा देखिएकी छन्।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्, जसले अभिनय पनि गरेका छन्। एन्जिलाले उनलाई आफ्नो ‘गड फादर’का रूपमा लिने गरेकी छन्। केही समयअघि नेपाल आएकी एन्जिलाले विभिन्न स्थानमा दर्शकहरूसँग प्रत्यक्ष भेट गरेकी थिइन्। उनी हाल ग्रीसको शीर्ष डिभिजन महिला फुटबल लिगको निस एट्रोमिटौ क्लबबाट खेलिरहेकी छन्।

चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ र बुद्धि तामाङको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.