चलचित्र ‘कर्मा’को ‘पागल’ गीत सार्वजनिक


काठमाडौं । नेपाली चलचित्र ‘कर्मा’को गीत ‘पागल’ सार्वजनिक भएको छ। गायक तथा संगीतकार सुशान्त केसीको युट्युब च्यानलमार्फत सार्वजनिक गीत प्रेमिल शैलीको छ।

लोकप्रिय गायक सुशान्त केसीकै शब्द, संगीत र स्वर रहेको ‘पागल’ गीतले विपिन कार्की र उपासना सिंह ठकुरीको प्रेमिल क्षणलाई समेटेको छ। एकले अर्कालाई देख्नेबित्तिकै प्रेममा डुबेको भावलाई गीतमा उतारिएको छ। केसीको मौलिक शैलीमा तयार पारिएको गीत निर्माण टिमलाई युवापुस्ताले मन पराउने विश्वास छ।

गीतको छोटो क्लिप यसअघि नै फेसबुक सर्ट्स तथा रिल्समा चर्चित बनिसकेको थियो। दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिम झन् आशावादी देखिएको छ।

चलचित्रमा सुशान्तले पहिलो पटक गीत गाएका छन्। अघिल्ला फिल्महरूबाट प्रस्ताव आए पनि उनले कुनै चलचित्रका लागि गीत गाएका थिएनन्। सामाजिक सञ्जालमा उनले ‘सिनेमाको पहिलो गीत, नयाँ अनुभव’ भनेर उल्लेख गरेका थिए।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, उपासना सिंह ठकुरीसँगै सुशान्त केसी स्वयं फिचर्ड छन्। भिडियोमा चलचित्रका विभिन्न दृश्य प्रयोग गरिएका छन्, जसले फिल्मको कथा झल्काउँछ।

नयाँ वर्ष २०८२ को अवसर पारेर ‘कर्मा’ यही चैत २९ गते नेपाल तथा विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ। चलचित्रमा विपिन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

एक्सन, सस्पेन्स र ड्रामामा आधारित ‘कर्मा’का निर्देशक सौरभ चौधरी हुन् भने कथा निर्देशक स्वयंले लेखेका छन्। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ।

‘कर्मा’लाई आर्टिस्टिक इन्टरटेनमेन्टले प्रस्तुत गर्दैछ भने वसन्त लम्साल यसका निर्माता हुन्।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.